सबै सरकारी स्कुल यस्तो भए प्राइभेटमा किन पढाउनु?

‘हाम्रो स्कुल कुनै पनि प्राइभेट स्कुभन्दा कम छैन,’ कक्षा १०, सेक्सन ‘बी’ की विद्यार्थी रुपा दुनाईले भनिन्, ‘यो स्कुलको विद्यार्थी हुनुमा हामीलाई गर्व छ।’

प्राइभेट स्कुलले मात्रै एसएलसीमा राम्रो नतिजा ल्याउँछ वा प्राइभेटमा मात्रै राम्रो पढाइ हुन्छ भन्ने आम धारणा छ। अधिकांश सामुदयिक स्कुलको हालत हेर्दा त्यस्तै लाग्छ। बाफलमा रहेको ज्ञानोदय उच्च मावि भने सरकारी स्कुल नै भए पनि कुनै महँगो निजी स्कुलभन्दा कम छैन। 

शिक्षकको मेहनत, अभिभावकको चासो र सहयोग तथा राम्रो व्यवस्थापनले यो स्कुल देशकै नमूना सरकारी स्कुल बनेको छ। 

यसपालि एसएलसीमा यहाँका २०१ परीक्षार्थी सहभागी थिए। जसमध्ये २८ जनाले ३.६ भन्दा धेरै जिपिए ल्याए। ३.२ देखि ३.६ जिपिए ल्याउने विद्यार्थी ५५ जना छन् भने ५८ जनाले २.८ देखि ३.२ को बीचमा जिपिए ल्याए। आरती अधिकारीले ३.९ जिपिए ल्याइन् भने ६ जनाले ३.८५ जिपिए ल्याए। सबैले २.४ जिपिए कटाएका छन्। 

गत वर्षको नतिजा पनि यस्तै थियो। १७७ विद्यार्थी सहभागी भएकामा २८ जनाले डिस्टिङसन र सय जनाले फस्ट डिभिजन ल्याएका थिए। 

ज्ञानोदय स्कुलले २०५२ सालदेखि नै लगातार एसएलसीमा राम्रो रिजल्ट ल्याउँदै आएको छ। प्रधानाध्यापक नातिकाजी महर्जन यो सफलतालाई शिक्षकहरूको मेहनतको परिणामका रूपमा अथ्र्याउँछन्। ‘हाम्रो टिचरहरूले विद्यार्थीलाई किताबका पाठ मात्रै पढाइरहनुभएको छैन, विद्यार्थीलाई कसरी सक्षम बनाउने भनेर मेहनत पनि गरिरहनु भएको छ,’ उनले सेतोपाटीसँग भने।

‘प्रत्येक शनिबार कक्षा ९ र १० का विद्यार्थीको हामी परीक्षा लिन्छौं,’ एसएलसीमा राम्रो नतिजा आउनुको रहस्य खोल्दै उनले भने, ‘सबै टिचरले त्यो उत्तपुस्तिका एक साताभित्र जाँचेर विद्यार्थीलाई दिनुहुन्छ। यसले सबै विद्यार्थीले आफ्नो कमजोरी र राम्रो पक्ष थाहा पाउँछन् र आफूलाई अझ राम्रो गर्नसक्ने बनाउँछन्।’

यहाँका धेरै शिक्षक १०–५ जागिर खान मात्र आउँदैनन्, उनीहरू बिहान बेलुका थप कक्षा लिइरहेका हुन्छन्। ‘हामीकहाँ अरू सामुदायिक स्कुलमा जस्तो १०–४ मात्र पढाइ हुने होइन, सरमिसले अरू एक्स्ट्रा क्लास पनि लिइरहनुहुन्छ। यसले पनि हाम्रो पढाइ राम्रो भएको हो,’ रुपाले भनिन्।

प्रधानाध्यापक महर्जनले थपे, ‘स्कुलमा खासमा ७ पिरियड पढाइ हुने हो तर हामी ८ पिरियड पढाउँछौ। कोर्सबुक मात्रै नभएर पाठ्यक्रम विकास केन्द्रले सिफारिस गरेका र केही प्राइभेट किताब पनि पढाउँछौं।’ 

यहाँका शिक्षक पनि मेहेनत गर्न निजी स्कुलका शिक्षकभन्दा कम छैनन्। शनिबार परिक्षा लिन बिहानै स्कुल आउँछन्, बिदाको समयमा कोचिङ पढाउँछन्। बिहान ‘एक्स्ट्रा क्लास’ लिन्छन् भने बेलुकी कमजोर विद्यार्थीलाई पढाएर अब्बल बनाउन मेहनत गर्छन्। बिहान ८ बजे सुरु हुने स्कुल बेलुकी पाँच–साढे पाँचसम्मै चलिरहन्छ। शिक्षकहरूको यही मेहनतको प्रतिफल एसएलसीको रिजल्ट आउँदा देखिन्छ।

२०२० सालमा स्थापना भएको यो स्कुल २०५२ सालसम्म अरू स्कुलकै हालतमा थियो। २०४६ सालमा महर्जनले यो स्कुलमा पढाउन थालेका हुन्। त्यतिबेला यो सामान्य थियो। २०५२ सालको एसएलसीमा ९० प्रतिशत विद्यार्थी पास भएपछि यो स्कुलको ‘प्रोफाइल’ फेरिन थाल्यो। राम्रो रिजल्ट निकालेबापत त्यसवर्ष थुप्रै पुरस्कार पनि पायो। स्कुलको चर्चा चुलियो। विस्तारै यो देशकै नमूना सामुदायिक स्कुल बन्यो। 

२०५२ सालमा कसरी त्यति धेरै विद्यार्थी पास भए त?

महर्जनले त्यतिबेलाका हेडमास्टर धनञ्जय शर्माको भनाइ सम्झिए। शिक्षकहरूलाई सम्झाउँदै शर्मा भन्ने गर्थे, ‘म हेडमास्टर भएर रिजल्ट राम्रो भएको होइन। हामीले नर्सरीदेखि मेहनत गरेर पढाएका विद्यार्थीले एसएलसी दिएपछि रिजल्ट राम्रो आएको हो।’

रेबरत्न बज्राचाय हेडमास्टर हुँदा २०४० सालताका नर्सरी र केजी पढाउन सुरु गरेका थिए। सरकारी अनुमति नभए पनि नर्सरीदेखि नपढाई हुँदैन भन्दै बज्राचायले नर्सरी कक्षा सुरु गराएका थिए। स्कुलले आफैं खर्च जुटाएर उनीहरूलाई पढाउन थालेको थियो। यहाँ नर्सरी पढ्न सुरु गरेका विद्यार्थीले पहिलोपल्ट २०५२ सालमा एसएलसी दिए र ९० प्रतिशत पास भए। मौका परिक्षामा बाँकी बिद्यार्थी पनि पास हुँदा विद्यालयको नतिजा शतप्रतिशत पुग्यो। त्यसपछिका दुई दशकसम्म यो नतिजा लगभग कायमै छ।

‘५२ सालमा एसएलसी नतिजा राम्रो आएपछि हामी हौसियौं,’ महर्जनले सुनाए, ‘त्यसपछि हामीले अझ मेहनत गर्न थाल्यौं। शिक्षकले गर्दा हुँदो रहेछ भन्ने देखियो नि त।’

शिक्षकहरूले मेहनत गरे पनि विभिन्न तहका शिक्षकको मनोबल उच्च राखेर काम गर्न निकै चुनौतिपूृर्ण रहेको उनले बताए। निजी स्रोतका शिक्षकका लागि पर्याप्त पारिश्रमिक व्यवस्थापन गर्न नसकिएको उनी बताउँछन्। राहत र अस्थायी कोटाका शिक्षकमा भोलि के हुने हो भन्ने भय छ। त्यसैले उनीहरू उच्च मनोबलका साथ काम गर्न सकिरहेका छैनन्। निजी, राहत र अस्थायी शिक्षकलाई स्कुलले नै चार हजार रुपैयाँ पोशाक भत्ता दिएर सरकारले गरेको विभेद टाल्ने प्रयास गरेको उनले सुनाए। सरकारले स्थायी शिक्षकलाई मात्र पोसाक भत्ता दिने निर्णय गरेर थुप्रै राहत तथा अस्थायी शिक्षकको अपमान गरेको थियो।  

अहिले स्कुलमा ८३ जना शिक्षक र कर्मचारी छन्। २४ जना शिक्षक र ११ जना कर्मचारीलाई स्कुलले तलब खुवाउनुपर्छ। तलबमा मात्रै मासिक छ लाख रुपैयाँ खर्च हुन्छ। 

‘अभिभावकले नै कुनै न कुनै रूपमा यो खर्च धानिरहनुभएको छ,’ उनले भने, ‘स्कुल राम्रो बनाउनुपर्छ भन्ने उहाँहरूमा भएकाले नै स्कुलले २० वर्षदेखि आफ्नो स्तर धानिरहेको छ।’

उनका अनुसार विदेशबाट आउने विभिन्न संघसंस्थाको सहयोगले पनि खर्च धान्न सघाउ पु¥याइरहेको छ। तर, २०६५ सालसम्म यस्तो सहयोग कतैबाट आउँदैन थियो। त्यस वर्ष स्कुलमा श्रीमदभागवत ज्ञान महायज्ञ आयोजना गरियो। त्यतिबेला संकलन भएको एक करोड रकमले भवन बन्यो। नतिजा पनि राम्रो भएको र भौतिक संरचना पनि हेर्न हुने भएपछि सरकारी निकायको आँखा ज्ञानोदयमा प¥यो। 

विदेशबाट आउने विभिन्न खाले पाहुनालाई शिक्षा मन्त्रालयले यही स्कुलमा पठाउन थाल्यो। यसरी आउने पाहुनाले समयसमयमा भौतिक पूर्वाधारमा सहयोग गर्छन् भने खर्च धान्न पनि सघाउँछन्। ‘अहिले सरकारले पनि विभिन्न कार्यक्रममार्फत् हामीलाई सहयोग गर्न थालेको छ,’ हेडमास्टर महर्जनले सुनाए। 

अहिले सरकारी कार्यक्रमअन्तर्गत कक्षा ९ बाट सिभिल इन्जिनियरिङ पढाउन यही स्कुल छनोट भएको छ। यहाँ कक्षा ९ का ४८ जना विद्यार्थी इन्जिनियरिङ पढिरहेका छन्। उनीहरूले सरकारी स्कुलमा कुनै अतिरिक्त शुल्क बिना इन्जिनियरिङको आधारभूत ज्ञान पाइरहेका छन्।  

यो स्कुलमा अंग्रेजी माध्यममै पढाइ हुन्छ। अभिभावकको अंग्रेजी भाषा मोह र अंग्रेजी भाषाको व्यावहारिक महत्व दुवैलाई ध्यानमा राखेर अंग्रेजी माध्यममा पढाउन थालेको महर्जन बताउँछन्। 

पहिले नर्सरीबाट सुरु गरेर प्रत्येक वर्ष एक कक्षा बढाउँदै अंग्रेजी माध्यममा पढाउन थालिएको थियो। यसरी त १३ वर्ष लाग्छ भन्ने भएपछि कक्षा पाँचमा पुगेका साल एकैपटक कक्षा १० सम्म अंग्रेजी माध्यम गरियो। नेपालीबाट पढाइरहेका शिक्षकलाई एकाएक अंग्रेजीबाट पढाउन परेपछि निकै गाह्रो भयो। तर, यो गाह्रो उनीहरूले झेले र सफल पनि भए। आजकल ज्ञानोदयका विद्यार्थी अंग्रेजी विषयमा फेल हुँदैनन्। शिक्षकलाई पनि अंग्रेजीमा पढाउन गाह्रो हुँदैन। 

नयाँ शैक्षिक सत्र सुरु हुनुअघि शिक्षकलाई अंग्रेजी भाषाको तालिम दिने गरेको हेडमास्टर महर्जनले बताए।

अहिले स्कुलले भौतिक पूर्वाधारमा पनि निकै फड्को मारेको छ।  

पाकिस्तानी दूतावासले ३६ वटा कम्प्युटर दियो। जिल्ला शिक्षा कार्यालयबाट आइसिटी कार्यक्रमअन्तर्गत थप कम्प्युटर लिएपछि ५० वटा कम्प्युटर छन्। जापानी र डचहरूको एउटा टिमले सोलार राखिदिएपछि बिजुलीको अभाव छैन। शिक्षकहरूलाई पनि कम्प्युटर सिक्नैपर्ने व्यवस्था गरिएको छ। कक्षा ४ देखि ८ सम्म कम्प्युटर विषय अनिवार्य छ भने ९ र १० मा ऐच्छिक छ। यहाँ दुईवटा सुविधासम्पन्न विज्ञान प्रयोगशाला छन्। कोरियाली नागरिकको एउटा समूहले अर्को प्रयोगशाला बनाइदिने भएको छ भने सामसङ कम्पनीले स्मार्ट कक्षा बनाइदिने भएको छ। 

अढाइ लाख लगानी गरेर यसै वर्ष मन्टेश्वरी पद्धतिबाट पढाउन पूर्वाधार तयार गरिएको छ। शिक्षकहरूलाई मन्टेश्वरी तालिमको पनि व्यवस्था मिलाइएको छ। 

‘यति धेरै शिक्षक र पूर्वाधार हुँदा पनि पुगिरहेको छैन,’ हेडमास्टर महर्जनले भने, ‘विद्यार्थी संख्या बढेको बढेकै छ, धान्न सक्ने अवस्था छैन।’

२०५२ सालमा यहाँ एक हजार हाराहारी विद्यार्थी थिए, अहिले यो संख्या बढेर २१०० नाघिसकेको छ। ‘फोहोर फाल्न मात्रै महिनाको २५०० लाग्छ,’ महर्जनले भने, ‘यो स्पेस अब साँघुरो भइसक्यो, यति भवनले पनि पुग्ने अवस्था छैन। के गर्ने हामीले निर्णय गर्न सकेका छैनौं।’

अरू सामुदायिक विद्यालयलाई कसरी राम्रो बनाउने भनेर उनलाई धेरै पटक सोधिएको छ। उनी भन्छन्, ‘पहिलो त शिक्षकको मेहनत नै हो। शिक्षकले उच्च मनोबलका साथ प्रशस्त मेहनत गर्नुपर्छ। अर्को चाहिँ अभिभावकको चासो हो।’ 

सामुदायिक विद्यालयका विद्यार्थीको अभिभावकले सोच्ने तरिका ठीक नभएको उनको भनाइ छ। अभिभावकहरू आफ्ना बालबालिकाले कसरी पढिरहेका छन् भन्ने चासो राख्दैनन्, रिजल्ट आएपछि मात्र नराम्रो वा राम्रो छुट्याउन थाल्छन्। रिजल्टले मात्र स्कुल राम्रो वा नराम्रो थाहा नहुने उनको भनाइ छ। 

‘रिजल्ट भनेको प्राविधिक कुरा हो। नर्सरीदेखि नै कसरी पढिरहेका छन् हेर्नुपर्छ । उनीहरूको क्षमता कस्तो छ हेर्नुपर्छ। उनीहरू के के काम गर्न सक्षम छन् भन्ने हेर्नुपर्छ,’ उनले भने।

शिक्षकको मेहनत र अभिभावकको उचित चासो, सकारात्मक हस्तक्षेप र सहयोग भयो भने सामुदायिक स्कुलहरू सुधार्न समय नलाग्ने उनको निष्कर्ष छ। 

सधैं अरु स्कुल राम्रो बनाउने कुरा मात्रै हुँदैन। कहिलेकाहीँ उनलाई अरू स्कुलका प्रधानाध्यापकहरूले सोध्छन्, ‘रिजल्ट राम्रो भएर के पाउँछौ? तलब त तिम्रो र हाम्रो उति नै हो।’

आफ्ना विद्यार्थीले स्कुल बाहिर गएपछि कलेजमा र काम गर्ने ठाउँमा राम्रो गरिरहेको खबर सुनेपछि उनलाई आनन्द आउँछ। यस्तो प्रश्नको जवाफ आजकल उनलाई थाहा भइसकेको छ, ‘तलब त उति नै हो, तर मेरोजति आत्मसन्तुष्टि तपाईंहरूले पाउनुहुन्न।’

यही आत्मसन्तुष्टिको खोजीका लागि ज्ञानोदयका शिक्षकले गर्ने मेहनतको लाभ यहाँ अध्ययनरत २ हजार १ सय विद्यार्थीले पाउँछन् र भन्छन्, ‘हाम्रो स्कुल कुनै प्राइभेट स्कुलभन्दा कम छैन।

News Images:

News Files:

News And Announcement List


Highly Advanced ICT Hub is going to Construct within 3 months of duration. Team of korea, ministry of education and Gyanodaya School have signed in contract paper. The Hub consists of magnificent glass board and sliding smart board in front , 40 Note books, 20 ipods and other equipments. All other supporting requirements for the Hub is going to be provided. It is going to be made Modal ICT Hub of Nepal.

Details


Details


Details


सिरहाकी रोशनीकुमारी साह काठमाडौं, बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयमा ८ कक्षामा पढ्छिन् । सिरहाकै बालसंसार इङ्गलिस बोर्डिङ स्कूलबाट ७ कक्षा पास गरेपछि यही वर्ष ज्ञानोदयमा भर्ना भएकी उनी काठमाडौंमा आफन्तकोमा बसेर स्कूल जान्छिन् । सरकारी विद्यालयमा पढ्यो भने ‘सर्टिफिकेट’ को मान्यता हुने र त्यसले भविष्यमा धेरै फाइदा हुन्छ भनेर बाबुले यहाँ भर्ना गरिदिएको उनको भनाइ छ । .....

Details


माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल शिक्षामन्त्री हुँदा गत वर्ष चिनजानका व्यक्तिले फोन गरे । फोनमा बाफलस्थित ज्ञानोदय माविमा कक्षा ९ मा भर्नाका लागि भनिदिन आग्रह थियो । सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न मन्त्रीसम्मलाई भनसुन ? यो फोनले पोखरेल अलमलिए । विद्यालयमा गत वर्ष तीन सय जनाको भर्ना कोटा खाली थियो ।

Details


काठमाडौं । कीर्तिपुरस्थित जनसेवा माध्यमिक विद्यालय पुग्दा प्रधानाध्यापक नन्दकुमारी महर्जन शिक्षकसँग बैठकमा थिइन् । विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थीको शैक्षिक उपलिब्धबारे छलफल गर्न उनी सँधैजसो शिक्षकहरूसँग यसैगरी छलफल गर्छिन् । शिक्षकसँग गर्ने त्यस्ता छलफलले विद्यालयलाई मुलुककै नमुना विद्यालय बनाउन सहयोग गरेको सत्यलाई उनी सहजै स्वीकार गर्छिन् ।

Details



Contact Us

Maps

Facebook